मानव अधिकारको उपभोगमा हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण

Yangle News
Yangle News
२०८२ कार्तिक ९ गते
मानव अधिकारको उपभोगमा हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले देशमा पुनः आयोजना गर्ने भनिएको प्रदर्शनबाट शान्ति सुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस प्रकारका हिंसात्मक गतिविधि नहोऊन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुनेमा आयोगले जोड दिएको छ । प्रदर्शन शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित भएको आयोगले जनाएको छ ।

‘त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ,’ आयोगले भनेको छ ।

समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ रहेको उल्लेख गर्दै हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्य-मान्यताकै आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्ने सुझाव आयोगले दिएको छ ।

‘अतः नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै, आफ्ना मागहरू शान्तिपूर्ण रुपमा राख्न आयोग प्रदर्शनरत पक्षलाई समेत आह्वान गर्दछ ।’

Yangle News