चीनीयाँ नागरिकले भोलि अर्थात (मार्च १५ तारिख) बाट पर्यटकका रुपमा बाहिरी मुलुक यात्रा गर्न पाउने भएका छन् । कोरोनाका कारण पर्यटक भिसामा कडाइ गरेको चीनले चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत सूचना जारी गर्दै अन्य मुलुक घुम्न जान खुला गरेको हो ।
चिनियाँ नागरिक घुम्न जाने देशहरूको सूचीमा नेपाललाई पनि राखिएको छ । मन्त्रालयले गत शुक्रबार सार्वजनिक गरेको देशहरूको सूचीमा नेपाललाई समावेश गरेको हो ।
सूचनामा कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित अब पर्यटन एजेन्सीहरूले होटल, हवाइ टिकट लगायत व्यवस्थापन गर्न सक्ने छन् । चीनको यो निर्णयले पर्यटन व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ ।
यो सँगै अब नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने पर्यटन बोर्डले जनाएको छ । पर्यटकीय सिजन सुरू हुँदै गर्दा चीनले दिएको सकारात्मक सन्देशले नेपालमा पर्यटक बढाउन सघाउ पुग्ने बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् ।
निर्देशक लामिछानेका अनुसार यसअघि चीनले भ्रमण गर्नुपर्ने बीस देशको सूचीमा नेपाललाई राखेको थिएन । बोर्ड र मन्त्रालय समेतको सहकार्यमा सरकारी तहबाटै चीनसँग अनुरोध गरेपछि यसपालि राखेको हो ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै भारत र चीनकै हुन् । कोरोनाअघि चीनबाट हरेक वर्ष एक लाख हाराहारी पर्यटक नेपाल आउने गरेका थिए । सन् २०१९ मा मात्र एक लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए ।
कोभिडका बेला चीनले गरेको कडाइ लामो समयसम्म रहेपछि नेपाल आउने चिनियाँ पर्यटक कम थिए । हाल चीनबाट मासिक दुईदेखि तीन हजार जना पर्यटक मात्र नेपाल घुम्न आइरहेका छन् ।
कोरोनाका कारण उडान रोकेका एयरलाइन्सहरुले अझै उडानलाई निरन्तरता दिएका छैनन् । जसका कारण भाडादर महंगो छ । अब चीनले पनि कोरोनाले रोकिएका सबै उडान पुन: नियमित गरे भाडा कम हुने वोर्डले जनाएको छ । कोरोनापछि चिनियाँ वायुसेवा एयर चाइना, क्याथे प्यासिफिक, चाइना इस्टर्न, चाइना साउदर्नले नेपालमा नियमित उडान थालिसकेका छन् । त्यस्तै सिचुवान एयरलाइन्सले पनि आगामी चैत ६ गतेबाट सातामा चार उडान गर्दैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चीनका विभिन्न सहरबाट नेपाललाई सिधा हवाईमार्फत जोड्न पनि पहल भइरहेको छ । मन्त्री सुदन किराँती र नेपालका लागि चीनका राजदूतबिच गत शुक्रबार भएको भेटमा चीनका विभिन्न सहरबाट सिधा हवाइ उडान खोल्ने र चीनले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा राखेको विषयमा छलफल भएको थियो ।