बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार बुधबार बेलुकादेखि ताप्लेजुङमा वर्षा भएको थियो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो ।
बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।
कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१.६ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाले आज दिउँसो पनि पूर्वी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले कोशी प्रदेशमा मनसुनी प्रणाली एक्टिभ भएकाले ताप्लेजुङ लगायतका पहाडी जिल्लामा वर्षा हुँदै आएको छ ।