ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर आफ्नो सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।
उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको दाबी गरेका छन् ।
सरकार र राष्ट्र बैंकका नीतिको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरुलाई उनले आग्रह गरे ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।
ग्लोबल आइएमई बैंकका देशका ७७ वटै जिल्लामा शाखा कार्यालय रहेका छन् ।