पार्टी स्थापना दिवसका दिन रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय

Yangle News
Yangle News
२०८३ बैशाख ३० गते
पार्टी स्थापना दिवसका दिन रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले अगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बैठकले ७७ जिल्लाबाट २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने तय भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ ।

वैशाख २० अघि समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानमा १६ जेठमा वडा अधिवेशन गर्ने भएको छ । वैशाख २५ गते अघि समिति गठन भएका पालिकामा जेठ १० गते अधिवेशन हुनेछ । जेठ १० गते अघिसम्म समिति गठन भएका बाँकीको अधिवेशनको समय जेठ १७ गतेका लागि तोकिएको छ ।

सचिवालय बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जेठ २ गते समिति गठन नभएका वडाको भेला बोलाइएको छ भने जेठ ९ गते समिति गठन नभएका पालिकाहरूको भेला डाकिएको छ ।

बैठकले जेठ २६ गते बागमती प्रदेशको अधिवेशन तोकेको छ । जेठ २७ गते कोशी प्रदेश, जेठ २८ गते मधेस प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने उनले बताए ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपा घोषणा गरेका थिए । स्थापना कालमा रविले आफ्नै नेतृत्वमा २१ जना केन्द्रीय समिति घोषणा गरेका थिए । पार्टी स्थापना गरेको पाँच महिनामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३० हजार लोकप्रिय मतसहित २१ सिट जितेको थियो ।

पार्टी स्थापना भएको चार वर्ष पुरा नहुँदै गत फागुनमा २१ मा भएको निर्वाचनमा ५१ लाखभन्दा बढी लोकप्रिय मतसहित दुईतिहाइनजिक अर्थात् १८२ सिट जितेको थियो ।