‘निर्वाचन विशेष मौसम बुलेटिन’ जारी, फागुन २०-२२ मा पानी पर्ला ?

Yangle News
Yangle News
२०८२ फाल्गुन १५ गते
 ‘निर्वाचन विशेष मौसम बुलेटिन’ जारी, फागुन २०-२२ मा पानी पर्ला ?

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले ‘निर्वाचन विशेष मौसम बुलेटिन’ जारी गरेको छ । महाशाखाले हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरुको विश्लेष्णको आधारमा बुलेटिन जारी गरेको जनाएको छ ।

महाशाखाद्वारा आज साँझ जारी बुलेटिनअनुसार आगामी निर्वाचनको समय फागुन २० देखि फागुन २२ सम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । उक्त अवधिमा देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागलगायत देशका बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

भोलि दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।

बुलेटिन :

Yangle News