नक्कली नोट छाप्ने मेसिनसहित थप दुईजना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका-३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।
श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौं प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रंगीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ ।