पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो ।
विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । ‘आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९-०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व संकलन भएकोमा २०८०-०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ ।’
आर्थिक वर्ष २०७९-८० मा सात हजार छ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०-८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपाली ढोरपाटन आएका थिए ।
आर्थिक वर्ष २०७८-७९ मा नौ हजार नौ सय १९, २०७७-०७८ मा छ हजार सात सय तीन र २०७६-०७७ मा तीन सय २० जनाले ढोरपाटन घुमेका थिए । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजारका दरले शूल्क तिर्नुपर्छ ।
सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।
सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर-गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०-०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट रु। चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९ – ८० मा १९ नाउर र ११ झारल, २०७८-७९ मा १७ नाउर र ८ झारल, २०७७-७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो ।
स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोवल सफारी काठमाडौँका सिकार गाईड मानबहादुर पुनले बताए । बसन्त र सरद याममा सिकारी आउँछन् ।