क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

Yangle News
Yangle News
२०८० पुस २५ गते
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

 

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिए ।

पन्थीका अनुसार जरिवाना बापतको ३ लाख रुपैयाँ समेत पीडितले नै पाउने भनी आदेश भएको हो ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

उनले गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका छन् । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् ।

क्रिकेटर सन्दीप लामिछाने पीडित (गौशाला २६) लाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।