अक्टोबर सातबाट सुरु इजरायल-हमास युद्धले गाजा क्षेत्रका धेरै स्थानीयले आफ्ना आफन्त र परिवारका सदस्य गुमाएका छन् । सँगसँगै उनीहरुले आफ्ना बाल्यकालका सम्झना जोडिएका पुराना सम्पदा पनि गुमाएका छन्, जसको उनीहरुमा बेग्लै पीडा थपेको छ । युद्धका कारण विस्थापित उनीहरु विभिन्न स्थानमा शरण लिएर बस्न बाध्य छन् । कतिपयले आफ्ना पिता पुर्खाले छोडेर गएका ऐतिहासिक महत्वका भवनहरु गुमाउनु परेको छ ।
इजरायलले प्रहार गरेको बमले १५ सय वर्ष पुरानो इतिहास बोकेको ग्रेट ओमारी मस्जिद पनि ध्वस्त भएको स्थानीय बताउँछन् । जुन मस्जिदमा प्रवेश गरेसम्म त्यहाँका मानिसहरु हरेक वर्षको इद पर्वको रौनक नै नआउने महसुस गर्छन् ।
पछिल्लो दुई महिना इजरायलले गाजा क्षेत्रमा दैनिक बम खसालिरहेको प्यालेस्टाइनका संस्कृति मन्त्री अतेफ अबु सैफले बताए । जसका दौरान विभिन्न संग्राहलय, पुरातात्विक स्थल र पुराना शहर गरि १ सय ४४ वटा ऐतिहासिक स्थल नष्ट भएका छन् ।
सांस्कृतिक सम्पदाको सुरक्षा सम्बन्धि काम गर्ने एक संस्थाको पछिल्लो रिपोर्टका अनुसार इजरायल र हमास युद्धले हालम्म ३ सय २५ वटा ऐतिहासिक स्थल नष्ट भएका छन् । हजारौ वर्ष पुराना भवन र विश्वकै पुराना चर्चहरु पनि यसमा परेका छन् ।
मानव नरसंहारसँगै शहरमा रहेका थिएटर, सांस्कृतिक केन्द्र र पवित्र स्थलहरु क्षतविक्षत हुनु सांस्कृतिक नरसंहार भएको हेरिटेज फर पीस संगठनकी प्रमुख इस्बर सबरीन बताउँछिन् । ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको दुबै पक्षबाट पालना नहुँदा यो स्थिति आएको सबरीनले बताइन ।