हिमाल आरोहणका लागि एक हजार ३ सय बढीले लिए अनुमति

Yangle News
Yangle News
२०८० मंसिर २३ गते
हिमाल आरोहणका लागि एक हजार ३ सय बढीले लिए अनुमति

 

यो सिजन हिमाल आरोहणका लागि एक हजार ३ सय २९ जनाले अनुमति लिएका छन्  । पर्यटन विभागका अनुसार शुक्रबारसम्म  स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि रहेको विभागका निर्देशक राकेश गुरुङले बताए । यसका लागि ४५ समूहका ४ सय १२ जना पुरुष र ८० जना महिला गरी ४ सय ९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएको उनले बताए ।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् । यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन् । विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ ।

विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी बुझाउनु पर्छ ।