कोप-३० मा ९ वटा एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

Yangle News
Yangle News
२०८२ कार्तिक ७ गते
कोप-३० मा ९ वटा एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप-३०)मा नेपालले नौ वटा एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको छ ।

वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालका अनुसार कोप-३० का लागि मन्त्रालयले गएको जेठमा सम्पन्न सगरमाथा संवादका निष्कर्षका साथ जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा-६ विषयमा आधारित आफ्ना एजेण्डा प्रस्तुत गर्नेछ ।

त्यस्तै जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, पर्वत, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायका विषयमा आधारित रहेको एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको ढकालले जानकारी दिए । कोप-३० आउँदो नोभेम्बर १० देखि २१ तारिख अर्थात यही कात्तिक २४ देखि मंसिर ५ गतेसम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ ।

यो सम्मेलन जिवाष्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत विषयमा छलफल केन्द्रित हुनेछ ।