विद्रोहको बाटो हिँड्न तयार छौं : राजेन्द्र लिङ्देन

Yangle News
Yangle News
२०८१ चैत्र २६ गते
विद्रोहको बाटो हिँड्न तयार छौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन् । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि कठिन बाटो समाउनसमेत तयार रहने उनले बताए ।

राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू विद्रोहको बाटो हिँड्ने बताए । उनले भने, ‘हामी शान्ति चाहन्छौं । शान्तिपूर्वक ढंगबाट आफ्नो माग मुद्दालाई स्थापित गर्न चाहन्छौं । तर सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी सल्लाह गरेर त्यो बाटो हिँड्न तयार छौं ।’

उनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यसखालका द्वन्द्व स्वीकार हो भनेर प्रश्न गरेका थिए । ‘माओवादीको जनयुद्ध तपाईंहरु सबैलाई थाहा छ । एउटा भरुवा बन्दुक बोकेर सुरु गरेको माओवादीले कांग्रेस, एमालेलाई के गरेको थियो? स्मरण गर्नुस् । अनि अझै हामी जंगल पसोस् भनेर चाहनुहुन्छ?,’ उनले प्रश्न गरे ।

उनले तीनकुनेको हिंसा राज्यले नै भड्काएको आरोप लगाए । ‘त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापा जिम्मेवार छन्,’ उनले भने । उनले अहिलेको प्रहरी प्रमुख एमालेको भातृसंस्था युवा संघको सहअध्यक्ष रहेको आरोपसमेत लगाए । उनले राजा आउँछ भन्नेहरूको पनि यो देश भएको बताएका छन् । ‘कसैलाई गणतन्त्र मन पर्छ, ठीक छ । तर यो देश राजा आउँछ भन्नेहरूको पनि हो,’ उनले भने ।

उनले प्रधानमन्त्री निवास बालुवाटार घेरेर भातपानी बन्द गराइदिने शक्ति राप्रपासँग रहेको पनि बताए । अध्यक्ष लिङ्देनले आफूहरूलाई कमजोर नठान्न आग्रह गरे । ‘भृकुटीमण्डप छाडेर बल्खु आयो भनेर राप्रपालाई कमजोर नठानियोस्,’ उनले भने, “यस्तो जुलुस चारतिर पेल्दियो भने क-कसलाई गोली हान्नुहुन्छ ? राप्रपाले चाह्यो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्छ ।’

उनले आफ्ना नेताहरू पक्राउ परेको विषयलाई इखको रूपमा लिएको बताए । उपाध्यक्ष रविन्द्र मिश्र र सांसदसमेत रहेका धवल शमशेर राणालाई पक्राउ गरेकोप्रति अध्यक्ष लिङ्देनले आपत्ति जनाए ।