पछिल्लो तीन दिनमा एक लाख ५० हजार मानिसले छाडे उपत्यका

Yangle News
Yangle News
२०८० अशोज २९ गते
पछिल्लो तीन दिनमा एक लाख ५० हजार मानिसले छाडे उपत्यका

हिन्दुहरुको महान पर्व दसैँ मनाउन पछिल्ला दिनहरुमा काठमाडौँ लगायत देशका मुख्य सहरबाट गाउँबस्ती पुग्नेको लर्को सुरु भएको छ । पछिल्लो तीन दिनमा उपत्यकाबाट मात्रै एक लाख ५० हजार मानिस बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु घर जान थालेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्म यात्रा गर्नेहरुको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार असोज २७ गते बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका हुन् ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ ।

दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ  ।

अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यसपटक धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।