संक्रमणकालीन न्याय निरुपणका लागि पुरानै ‘सर्च कमिटी’लाई निरन्तरता

Yangle News
Yangle News
२०८१ चैत्र ११ गते
संक्रमणकालीन न्याय निरुपणका लागि पुरानै ‘सर्च कमिटी’लाई निरन्तरता

सरकारले संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का निम्ति यसअघि म्याद सकिएको सिफारिस समितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि ‘सर्च कमिटी’ बनाउने विषयमा आजै प्रमुख दलबीच समझदारी बनेको थियो । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।

विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटन भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै बनेको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो । मिश्र नेतृत्वको सर्च समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुनकुमार कार्की र स्टेला तामाङ छन् । एकजना राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवं अध्यक्षले तोकेको एक जना सदस्य रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ ।