सामाजिक सञ्जाल फेसबुकमा आधारित महिलाहरुको एक समूह “ खन्चुवा ग्याङ” ले नेपालका विभिन्न आश्रमका बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग गरेको छ । घरमा आफूले पकाएका परिकार साथीहरुसँग सेयर गरेर रमाइलो गर्ने भन्दै ४ वर्ष अघि सुरु समूहमा हाल देशविदेशका करीब ८ हजार पाँच यस सदस्य छन् ।
सदस्यहरुको एक दिनको खाजा खर्च बापतको रकम संकलन गरी नेपालका विभिन्न स्थानका आश्रममा बसिरहेकाहरुलाई एक छाक खाना, लत्ता कपडा र खाद्यसामग्री सहयोग गरेको समूहकी एड्मिन प्रभा अधिकारीले बताइन् ।
समूहले हालसम्म भत्तपुरस्थित मानव सेवा आश्रमका ५० जना बृद्धबृद्धा, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रका ४० जना, विराटनगरस्थित मानव सेवा आश्रमका १२० जना र चितवनस्थित सिद्धि छात्रावासमा रहेका ६५ जना चेपाङ समुदायमा बालबालिकालाई सहयोग गरेको छ ।
भोलि गोगंबुस्थित हिमालयन बुद्ध आश्रम र भैरहवाको श्री सत्य शाइ बृद्धाश्रममा पनि सहयोगको कार्यक्रम रहेको अधिकारीले बताईन् । समूहले सदस्यहरुबाट संकलन गरेको एक लाख पचाँस हजार रुपैयाँ रकम बराबरको सहयोग गरिरहेको हो । समूहको एड्मिनमा अधिकारी, हङकङ निवासी रेनुका खरेल त्यस्तै मोडरेटर लिना अर्याल र इन्दिरा सुवेदी छन् ।