काठमाडौं । असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन बिहीबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम पूर्णिमासम्म निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।
आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ ।