वीरगञ्जमा हैजा : मुख्य कारण पानी हुनसक्ने अनुमान

Yangle News
Yangle News
२०८२ भदौ ८ गते
वीरगञ्जमा हैजा : मुख्य कारण पानी हुनसक्ने अनुमान

वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । जिल्ला जिल्ला जनस्वास्थ्य कार्यालयले यस्तो अनुमान गरेको हो ।

१२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको हो/होइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने बताइएको छ । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनु पर्ने कार्यालयले जनाएको छ ।

प्रकोप फैलन नदिनका लागि वीरगञ्ज महानगरपालिकाले हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम शुरू गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले मोबाइल भ्यानसहित पानी परीक्षणको कार्य अगाडि बढाएको हो ।

झाडापखालाको प्रकोप फैलिएमा नारायणी अस्पतालमा आईसीयूसहितको ५० शय्या क्षमता भएको २ वटा वार्ड छुट्याइएको छ । नेशनल मेडिकल कलेजलाई समेत ‘अलर्ट’ मा राखिएको छ । साथै प्रदेशअन्तर्गतका १ सय र २ सय शय्याका अस्पतालमा १० प्रतिशत शय्या आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको छ ।

अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर भने घट्दै गएको छ । यसअघि हिजो नारायणी अस्पतालमा ७३, तराई अस्पतालमा ५० र अन्य अस्पतालहरूमा पनि बिरामीको संख्या अत्यधिक थियो ।

गएको साउन २४ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ बाट झाडापखालाका बिरामीहरू देखा पर्न थालेका हुन् । गएको बिहीवारदेखि वडा नम्बर ११, १३, १४ र १६ सम्मका झाडापखालाका बिरामीहरू अस्पतालमा भर्ना हुनेको चाप बढेको थियो ।

यसैबीच हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परे प्रभावित क्षेत्रमा तत्काल मेडिकल टिम परिचालन गर्ने सरकारले तयारी गरेको छ । आज गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुनसक्ने गरी नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । ‘चिकित्सक सहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ । सोहीअनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ,’ उनले भने ।