‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘सहर उज्यालो अभियान’ अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको हो ।
यसबाट सहरको सौन्दर्य बढ्ने हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि विद्युत् नपुगेका ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए । उनका अनुसार या प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानल जडान गरिएको छ ।
सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधैँ जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था भएको प्राधिकरणको भनाइ छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ भने बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महसुल सम्बन्धित पालिकाले तिर्नेछन् । ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान भइसकेको छ । साथै भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौँसहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खू सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ । सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
पोखराका स्मार्ट सडक बत्ती उद्घाटन
नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती ९स्मार्ट स्ट्रिट लाइट० बाट झिलिमिली बनाउन सुरु भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । उनले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्यबृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने काम भइरहेको बताए ।उनले विद्युत् आपूर्ति सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन महानगरपालिकालाई आग्रह गरे । पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने २३ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा दुई हजार सात वटा सडक बत्ती जडान गरिएको छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ ।
सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ ।