लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट

Yangle News
Yangle News
२०८२ कार्तिक ३ गते
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट

लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।

यसरी आन्तरिक खपत र निर्यात दुवै गरी कुल २,६६५ मेगावाट विद्युत्‌को माग पुगेको प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन घरघरमा दीप प्रज्वलन, बिजुली बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष बढोत्तरी हुने गर्छ ।

यस वर्ष माग बढे पनि प्रणाली सन्तुलन कायम गर्न प्राधिकरणले सफलतापूर्वक आपूर्ति व्यवस्थापन गरेको जनाएको छ । प्राधिकरणले २०७३ सालदेखि लक्ष्मीपूजाको दिन निरन्तर रूपमा बत्ती व्यवस्थापन गर्दै आइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आज साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका थिए ।

ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिव, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

विगत वर्षझैं यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।