रूसमा आएको भूकम्पले दर्जनौं देशमा असर

Yangle News
Yangle News
२०८२ साउन १४ गते
रूसमा आएको भूकम्पले दर्जनौं देशमा असर

रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरकी भूगर्भीय सर्वेक्षणका अनुसार यो भूकम्प इतिहासकै छैटौं सबैभन्दा ठूलो हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)का अनुसार नेपाली समयअनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो । भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको छ । अहिले जापानको होक्काइडो, कानागावा, वाकायामा लगायतका क्षेत्रमा सर्वाधिक असर देखिएको छ । सुनामीका कारण फेरी सेवा र हवाइ यातायातमा बाधा पुगेको छ ।

भूकम्पपछि आएको सुनामीका कारण जापानमा पनि असर परेको छ । जापानी प्रसारण संस्था एनएचकेका अनुसार देशको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन् । जापान सरकारले लगभग २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ । फुकुशिमा परमाणु रिएक्टर पनि खाली गराइएको छ ।

अमेरिकाको हवाईस्थित हनाली खाडीमा पानीको सतह एक्कासि घट्न थालेको छ, जुन सुनामी आउनुअघि देखिने संकेत हो । इक्वाडोर र रूसको तटीय इलाकामा ३ मिटर (१० फिट) सम्म अग्ला लहरको चेतावनी जारी गरिएको छ । पेरु, इक्वाडोर र चीनकाका तटीय क्षेत्रहरूमा पनि सतर्कता जारी गरिएको छ । अष्ट्रेलिया, मेक्सिको, न्यूजील्याण्ड, टोङ्गा, ताइवान लगायतका देशहरूमा १ मिटर अग्ला लहरहरू आउने सम्भावना छ ।

यसअघि सन् २०१० मा चिलीमा र सन् १९०६ मा इक्वाडोरमा ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए । चिलीको भूकम्पमा ५२३ जनाको ज्यान गएको थियो । इक्वाडोरको भूकम्पले १५०० जनाको ज्यान लिएको थियो । कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसलाई इतिहासकै पहिलो ९ म्याग्निच्यूडको भूकम्पका रूपमा लिइन्छ । त्यो भूकम्पले विशाल सुनामी ल्याउँदै हवाईमा ठूलो क्षति पुर्‍याएको थियो ।