कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ । नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा ससाना परिमाणका सुनका गहना फेला परेका थिए ।
सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ ।