कामीरिता २८औं पटक सगरमाथाको चुचुरोमा

Yangle News
Yangle News
२०८० जेष्ठ ९ गते
कामीरिता २८औं पटक सगरमाथाको चुचुरोमा

 

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन् । मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेका हुन । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

यसअघि कामीरिताले यहि जेठ ३ गते सगरमाथाको २७औं पटक सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामेका ५४ वर्षिय कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनको आरोहण यात्रा सन् १९९२ बाट सुरु भएको थियो ।

कामीरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

 

कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए । कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङ दावा पनि भनिने उनी २७ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् ।

 

 

302 views