शान्तिका दूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जन्म जयन्ती आज देशभरका बौद्ध तिर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । बुद्ध जयन्तीका अवशरमा बुद्धको पूजा, आराधना, र्याली एवं प्रवचन गरिदै छ । बुद्ध जन्मभूमी लुम्बीनीमा शान्ति र्याली निकालिएको छ ।
भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका मानिने बुद्धको प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
आजको दिनमा चैत्य, गुम्बा, विहारलगायत स्थलमा विशेष गरि बौद्ध धर्मावलम्वी लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परागत रुपमा पूजालगायत विधि पूरा गरिन्छ । यसैबिच सरकारले बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनीमा माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
पिता राजा शुद्धोधनका राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख, बुढ्यौलीपन, रोग र मृत्यु देखेर चिन्तित बने । उनी उनान्तीस वर्षको उमेरमा घर गृहस्थी छोडेर ज्ञान प्राप्तिका लागि निस्कएका थिए ।