राजेन्द्र कार्की संखुवासभाको प्रदेश ‘क’बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य कार्की संखुवासभाको पिछडिएको उत्तरी भेगका प्रदेशसभामा निर्वाचित हुने दौडमा छन्। उनका चुनावी एजेन्डा के छन्? यही सन्दर्भमा केन्द्रित रहेर कार्कीसँग नेपाली हेडलाइनले गरेको संवादः
संखुवासभामा गठबन्धनको अभ्यास कत्तिको सफल रहेको ठान्नु हुन्छ?
गठबन्धन राष्ट्रिय राजनीतिक आवश्यकता हो। संविधान, लोकतन्त्रको रक्षा गर्न, विधिको शासन लागू गर्न र जनताले परिवर्तनको लागि जे जस्तो बलिदानी दिए, त्यो आन्दोलनबाट प्राप्त उपलब्धीहरूको सुरक्षा गर्न यो गठबन्धन जरुरी भएको हो। पटक-पटक संसदभित्रै र संसदबाहिर लोकतन्त्रमाथि संविधानका मूल्य मान्यतामाथि आक्रमण भएको छ। ती सबै किसिमका आक्रमणबाट देश, राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोगाउनका लागि यो गठबन्धन गरिएको हो।
मुख्यतया अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाको संयुक्त गठबन्धन बनेको छ। यो गठबन्धनले देशव्यापी रूपमा एउटा ऊर्जा दिएको छ। स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको अभ्यास गरियो। आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि गठबन्धन कायम छ। हाम्रो विश्वास छ- यो गठबन्धनले प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्नेछ, लोकतन्त्रवादीहरूको विजय सुनिश्चित गर्नेछ। गठबन्धनको औचित्यलाई स्थानीय तहको निर्वाचनले पुष्टि गरिसकेको छ। आगामी निर्वाचनले पनि यसलाई अझ पुष्टि गर्नेछ।
संखुवासभाको कुरा गर्दा स्थानीय तहको निर्वाचनमा यो अभ्यास गरिसकेका छौं। र, यसमा सफल छौं। १० पालिकामध्ये दुईवटा पालिका सिलिचोङ र चिचिलामा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका थियौं। त्यसमा पनि गठबन्धन दलहरूकै उम्मेदवार विजय हुनु भएको छ। अरू पालिकामा अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि मुलभूत रूपमा गठबन्धन सफल भएको छ। आउने निर्वाचनमा पनि संखुवासभामा गठबन्धन सफल हुने कुरामा विश्वस्त छौं।
संखुवासभाको सन्दर्भमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आपसी आफ्नो अपनत्व हुनेगरी उम्मेदवारी प्रस्तुत गरेका छौं। यसमा प्रतिनिधिसभाका लागि कांग्रेसले उम्मेदवारी दिएको छ। यसमा गठबन्धन दलहरूको साथ, सहयोग र समर्थन रहनेछ। माओवादी केन्द्रले प्रदेशतर्फ ‘क’मा उम्मेदवारी प्रस्तुत गरेको छ। प्रदेश ‘ख’मा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ। यो कुराले पनि अझ गठबन्धनलाई बलियो, कसिलो र अपनत्व सिर्जना गर्ने परिस्थिति बनाएको छ। आगामी राजनीतिक यात्रामा पनि सँगसँगै अगाडि बढ्ने सोचेका छौं।
गठबन्धनका चुनावी एजेन्डा के हुन्? के विश्वासले मतदाताले तपाईंहरूलाई भोट दिने?
मुख्यतः गठबन्धन विजयी भइसकेपछि यो जिल्लाको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलन, बाम आन्दोलनले ठूलो सफलता र उपलब्धीको रक्षा हुनेछ। हामीले दुई कुरालाई प्राथमिकतामा राखेका छौ। पहिलो- गठबन्धनको विजय भनेको संविधानको रक्षा गर्ने हो। दोस्रो- संखुवासभाको विकास निर्माण, सुशासन हो। जसरी अहिले उम्मेदवारहरू जनताको बीचमा जाने, आफ्ना पार्टीका र गठबन्धनका साझा विचार लिएर जाने भइरहेको छ। यो जिल्लामा प्रशस्त स्रोत, साधन छन्। हिमाली दुर्गम जिल्ला भए पनि यहाँ हरेक कुराको प्रचुर सम्भावना छ। गठबन्धनको विजयपछि यी सबै स्रोत साधनको अधिकतम उपयोग गर्नेछौं।
मुख्यगरी सडक पूर्वाधार र विद्युतीकरण हाम्रो प्राथमिकता हुने छन्। अरुण नदीपारिको सिलिचोङ गाउँपालिकालाई राष्ट्रिय राजमार्गले छोएको छैन अझै। त्यहाँ पुग्न अरुण नदीमा पुल बनेको छैन। आगामी पाँच वर्षभित्र पुल निर्माण भइसक्नेछ। सडक पूर्वाधारको कुरा गर्दा मुख्यगरी यो कोशी-ल्हासा राजमार्गलाई ५ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य छ। यस्तै, चतरादेखि किमाथांकासम्म अरुण-कोशी करिडोर सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको राजमार्गका रूपमा विकास गर्ने योजना छ, हाम्रो। अहिले चतरा-लेगुवा खण्डका लागि सरकारले बजेट विनियोजन गरिसकेको छ। बहुवर्षीय टेन्डरको प्रक्रिया अगाडि बढिसकेको छ। २-४ महिनाभित्रैमा यो टेन्टरको प्रक्रिया अगाडि बढ्नेछ। दुई वर्षभित्रमा चतरादेखि किमाथांकासम्म ग्राभेलस्तरको सडक निर्माण हुन्छ। र, ५ वर्षभित्रमा त्यो सडकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नेछौं। त्यससँगै अरुण नदीको किनारै किनार अन्तर्राष्ट्रिय मापदण्डको सडक तयार हुनेछ। शुरुमा त्यो सडक दुई लेनको हुनेछ। र, भविष्यमा त्यसलाई स्तरोन्नति गर्दै चार लेनको बनाउने योजना छ।
यस्तै, धरान-हिले-बसन्तपुर-चैनपुर-खाँदबारी सडक छ। त्यो सडकको स्थिति भयावह छ। त्यो सडकलाई स्तरोन्नति गर्नेछौं। खासगरी, वर्षाको समयमा त्यो सडकको अवस्था जटिल छ। संखुवासभाको मात्रै होइन, प्रदेश-१ कै लाइफलाइनको रूपमा कोशी-ल्हासा सडकलाई स्तरोन्नति गर्ने लक्ष्य छ। अहिले कोशी करिडोरकै रूपमा विकास गर्ने हो। किमाथांकामा सुक्खा बन्दरगाह, भन्सारलगायत संरचनाहरू निर्माण अगाडि बढाउने छौं। त्यसबाट भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र बाह्रैमास चल्ने सडक तयार हुनेछ। सडकमै हाम्रो मुख्य ध्यान हुनेछ।
यस्तै, जिल्लाका १० वटै पालिकामा कालोपत्रे सडक ५ वर्ष भित्रमा पुर्याउने लक्ष्य छ। मानेभञ्ज्याङ-हेलुवा बेशी हुँदै सिलिचोङ जाने सडकको टेन्डर भइसकेको छ। अरुण नदीमाथि निर्माण हुने पुलको टेन्डर भइसकेको छ। छिटोभन्दा छिटो पुल निर्माण गरेर सिलिचोङसँग पनि सीधा सडकको सम्बन्ध जोड्नेछौं।
जलस्रोतको विकासमा गठबन्धनका एजेन्डा के छन्?
संखुवासभामा जलस्रोतको अपार सम्भावना छ। अरुण बेसिनमा मात्रै करिब ५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। अहिले अरुण तेस्रो जलविद्युत आयोजना भारतको सतलज कम्पनीले निर्माण गरिरहेको छ। ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। त्यससँगै तल्लो अरुण, अरुण चौथोमा समेत सतलजको सहभागितामा निर्माण शुरु हुनेछ।
अपर अरुण स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी नेपाल विद्युत प्राधिकरणले यसको नेतृत्व गरेको छ। अपर अरुणमा हाम्रो अभियान छ- संखुवासभाका सबै बासिन्दाले अपर अरुणमा सेयर हाल्ने, नगद सेयर हाल्न नसक्ने नागरिकका लागि राज्यले त्यसको दायित्व लिइदिने र अपर अरुणमा जनताले लगानी गर्ने वातावरण बनाउने छौं। त्यसो हुँदा संखुवासभाका बासिन्दाका आगामी तीन पुस्ताका लागि बलियो आर्थिक आधार तयार हुनेछ। अहिले अरुणमा सेयर हाल्नेहरूका छोरा नातिको भविष्य उज्ज्वल हुनेछ, त्यसबाट। र, त्यसले संखुवासभाका हरेक नागरिकको जीवनमा आर्थिक कायापलट हुनेछ।
कृषिमा के योजना छ?
कृषिमा आत्मनिर्भरता र व्यावसायिकता विकास गर्ने योजना लागू गर्नेछौं। किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उत्साहित गर्नेछौं। अझै पनि पराम्परागत जीवीकोपार्जन गर्ने कृषि प्रणाली छ। व्यावसायिक भनेको किसानहरूले लगानी गर्नुपर्यो अनि उत्पादनलाई बजारीकरण गरेर फाइदा पनि लिनुपर्यो। व्यवसाय भनेको उत्पादन र नाफासँग जोडिएको विषय हो। कृषि उपज, माछा मासु, दूध र अन्य पशुजन्य उत्पादन नयाँ ढंगले र ठूलो परिणाममा उत्पादन गराउने हाम्रो लक्ष्य छ।
त्यसका लागि कृषि फार्म स्थापना गर्नुपर्नेछ। हाम्रो जिल्लामा ठूल-ठूला फाँटहरू छन्। ती फाँटहरू भाडामा लिएर स्थानीय सरकार, कृषि सहकारी र निजी कम्पनीले कृषि उत्पादन गर्न सक्ने छन्। अन्न उत्पादन, फलफूल खेती, गाई फार्म बनाउन सकिन्छ।
त्यसबाहेक संखुवासभामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने कानून संघीय सरकारले कार्यान्वयनमा ल्याइसकेको छ। अरुण उपत्यका र त्यसमा पनि संखुवासभामा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना भएपछि त्यसले पनि जिल्लाको विकासमा दशकौंसम्म ठूलो योगदान दिनेछ। संखुवासभा त्यसै पनि जडीबुटीको भण्डार हो। यहाँ विभिन्न किसिमका वनस्पतिहरू छन्। ती वनस्पतिहरू औषधिको रूपमा आयुर्वेद विज्ञानले अनुसन्धान गर्छ। सबै युवालाई उद्यमी बनाउन सकिने आधार जडीबुटी खेती पनि हो।
जलस्रोत कृषि र पर्यटनलाई विकास गर्न सकियो भने युवालाई सजिलै रोजगारी दिन सकिन्छ। उद्यमशील बनाउन सकिन्छ। यहाँ विज्ञ, विशेषज्ञहरू छन्। निजामतिमा पनि उपल्लो तहमा पुगेकाहरू छन्। विशिष्ट व्यक्तिहरू छन्। सबैलाई जिल्लामा केन्द्रित गर्न आवश्यक छ।
पाँच वर्षपछिको संखुवासभा कस्तो हुनेछ भनेर बुझ्ने मतदाताले?
संखुवासभालाई पाँच वर्षपछि कस्तो बनाउने र संखुवासभा कस्तो हुन्छ भन्ने कुरा भिजन र दृष्टिकोणमा भर पर्छ। यो जिल्लालाई ५ वर्षमा कस्तो बनाउने भन्ने योजना र लक्ष्यसहित हामी अगाडि बढिरहेका छौं। खोक्रा नारा दिने र सपना बाँड्ने होइन कि सपना देख्ने र साकार पार्ने लक्ष्यसहित हामी अगाडि बढिरहेका छौं। त्यसैले ४ मंसिरको निर्वाचनमा गठबन्धनले कसरी विजय हासिल गर्ने भनेर रणनीति बनाइरहेका छौं। त्यसका लागि ५ वर्षभित्रमा हामीले के के गर्नेछौं भनेर जनतामाझ हाम्रो दृष्टिकोण लिएर जानेछौं। त्यसलाई जनताको बीचमा अनुमोदन पनि गर्नुपर्छ। समृद्धि भनेको के हो भने जीवनशैलीमा आमुल परिवर्तन हो। भौतिक रूपमा होइन, मानवीय जीवनशैली पनि परिवर्तन हुन आवश्यक छ।