गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले बताए । उनले भने, “मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्र्याक्टर आवतजावत गरेका छन्, हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पाबासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौंरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।”
सरकारले गण्डकी प्रदेशको मनाङ-मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा-मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५-७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । २० करोड लगानीमा ५६.५ किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
गत वर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले दुई करोड रुपैयाँ बजेट छुट्याएको थियो । मुस्ताङ-डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएका थिए ।
मुस्ताङ र डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचन बताउँछन् ।