प्रधानमन्त्री बालेन भारत भ्रमण सकेर स्वदेश फिर्ता

Yangle News
Yangle News
२०८३ मंसिर ७ गते
प्रधानमन्त्री बालेन भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण सम्पन्न गरि स्वदेश फर्कनुभएको छ ।

आइतबार भारत जानुभएका प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरि नेपाल एयरलाइन्सबाट सोमबार साँझ स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ लगाएतले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले भारत भ्रमण उपलव्धीपूर्ण रहेको जनाएको छ । त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवद्र्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले भारतसँगको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति र लाभ पाउने दिशामा भ्रमण केन्द्रित रहेको धारणा राख्नुभयो । दुई देशबीच व्यापार सहजीकरणलाई अझ प्रभावकारी बनाउन पारवहन व्यवस्था सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने दिशामा मिलेर काम गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

साथै उहाले दुई प्रधानमन्त्रीबीच नेपाल–भारत सिमानाका विषयमा चर्चा भएको र संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारमा भएको प्रगति उल्लेख गर्नुभयो । विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न नेपाल र भारतका परराष्ट्र÷विदेश सचिवहरूलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले हवाई सम्पर्क सञ्जाल प्रवद्र्धन तथा नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताबीच छलफल भएको र हाल एकतर्फी रहेको ’बी–३४५’
(काठमाडौँ–भैरहवा–लखनउ) हवाई मार्गलाई दुईतर्फी (बाइ–डिरेक्सनल) बनाउन दुवै पक्ष सहमत भएको जानकारी दिनुभयो ।

दुवै देशका प्रधानमन्त्रीहरूले जनकपुर र अयोध्याबीचको यात्रुवाहक रेलको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसंगै सामाजिक तथा धार्मिक सम्बन्ध अझ प्रगाढ बनाउने र पर्यटन तथा जनस्तरको सम्बन्ध प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको मन्त्री खनालले बताउनुभयो । लामो समयपछिको भ्रमणले नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त र सकारात्मक लयमा फर्काएको उहाँको भनाइ छ ।