स्थानीय निर्वाचनको तयारीका लागि मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला

Yangle News
Yangle News
२०८३ कार्तिक ३० गते
स्थानीय निर्वाचनको तयारीका लागि मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको जानकारी दिएको हो । पार्टीका निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने भेलाको उद्देश्य रहेको एमालेले जनाएको छ ।

मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत भेलाले राखेको एमालेको भनाइ छ ।

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका प्रतिनिधि तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४ सय १४ जनाको सहभागिता रहने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नुहुने आचार्यले बताउनुभयो ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्नुहुनेछ । उहाँले पार्टीका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे पनि धारणा राख्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्ने तय भएको आचार्यले जानकारी दिनुभयो ।

भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्ध मिलाइएको एमालेले जनाएको छ । भेलास्थल र सहभागीको सुरक्षा व्यवस्थापनका लागि १०० जना स्वयंसेवक परिचालन गरिने पार्टीले जनाएको छ ।