काठमाडौं । तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।
तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा सुरु मेलाको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभयो । सो क्रममा मन्त्री चौधरीले नर्सरी क्षेत्रले उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण र गुणस्तरीय बिरुवा उपलब्ध गराएर युवा, महिला तथा रोजगारी र आयआर्जनको अवसर प्रदान गर्ने बताउनुभयो । उहाले बीउ–बिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन केन्द्रमार्फत गुणस्तर नियमन गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । उहाले भूमि प्राप्तिसम्बन्धी समस्याहरूको समाधानका लागि कानुनमार्फत विशेष गरेर ’भूमि बैंक’को अवधारणा ल्याउने तयारी भइरहेको जानकारी समेत दिनुभयो ।
एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, ६ वटा अफिसियल स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित जम्मा ७३ वटा स्टलहरू रहेको आयोजकले जनाएको छ । एक्सोमा तिहारमा प्रयोग हुने फूलहरूका साथै बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्रीहरू, कृषि प्रविधि, कृषि औजार र मलखादहरू एउटै छानामुनि महामेलाको रूपमा उपलब्ध गराइएको छ ।