नेकपा एमालेले २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही असोज २९-३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दसौं पूर्ण बैठकले २२ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सुझावसहित सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले भने,ʻपारित प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्रका सम्बन्धमा, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने, देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरिएको छ ।ʼ
यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७-२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ । बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालयसम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझाव सहितको मन्तव्य राखेका थिए ।
प्रेस वक्तव्य :