सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन सुधार र सुरक्षा अवस्थाबारे अध्ययन गर्न कार्यदल बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै कार्यदल बनाउने जानकारी दिएका हुन् । दाहालले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने अवस्था आएको उल्लेख गरे ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको भन्दै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता रहेको बताए । अपराधको सञ्जाल तोड्न सरकार कठोररूपमा उभिनु पर्ने खड्काको धारणा थियो ।
अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए ।
प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरू उपस्थित थिए ।
छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्था्लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए ।