जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।
अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो । आर्यघाटमा मृतकका शवलाई सशस्त्र प्रहरी बलले सलामी अर्पण गरेको थियो ।
प्रदर्शनका क्रममा मृत्यु भएका अन्य ६ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सरकारले आन्दोलनमा मृत्यु हुनेहरूलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरूप प्रदान गर्ने घोषणा गरेको छ ।