युक्रेनमा रुसको भीषण हमला, कम्तिमा ११ जनाको मृत्यु

Yangle News
Yangle News
२०८२ कार्तिक २३ गते
युक्रेनमा रुसको भीषण हमला, कम्तिमा ११ जनाको मृत्यु

रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

सयौं रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनालाई उदृत गर्दै रोयर्टसले जनाएको छ ।

युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा स्थानीय समय शनिबार रातभर ५ सय ३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो । त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए । तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए । जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए ।

४ सय ६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ । रुसी आक्रमण मुख्यतया ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए । सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

जापोरिझिया क्षेत्रका विभिन्न जिल्लामा आवासीय भवनसहित अरू लक्ष्यमा प्रहार गरिँदा तीनको मृत्यु र ६ जना घाइते भएको जनाइएको छ । स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कका दुई जिल्लामा अन्य दुईजनाको मृत्यु भएको छ ।

करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न खोजिने कूटनीतिक प्रयास क्रमशः कमजोर हुँदै गएको सन्दर्भमा यी घटनाको भएको अलजजिराले जनाएको छ ।

युक्रेनमा कठोर जाडो नजिकिँदै गर्दा रुसको यो हमला युद्धको अर्को रणनीतिक अभियानको हिस्सा भएको जनाइएको छ ।