आठ महिनामा साढे १० खर्ब ५१ अर्ब विप्रेषण आप्रवाह

Yangle News
Yangle News
२०८१ चैत्र २७ गते
आठ महिनामा साढे १० खर्ब ५१ अर्ब विप्रेषण आप्रवाह

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रहेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ । गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चिति २१ खर्ब ३० अर्ब

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति ३.३४ प्रतिशत

वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीति) ३.७५ प्रतिशत रहेको छ । गत वर्षको समीक्षा अवधिमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । चालु आर्थिक वर्षमा सरकारले मूल्यवृद्धिलाई साढे पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

मूल्यवृद्धि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९५ र ४.०७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैरमदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशत बढेको छ ।

यस्तै, मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशत घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाँक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशत बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशत बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८, मधेसको ३.५२, वाग्मतीको २.९८, गण्डकीको २.७७, लुम्बिनीको ३.७७, कर्णालीको ३.८० र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, तराईको ३.७७, पहाडको ३.७२ र हिमालको ४.७७ प्रतिशत रहेको छ । फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो । निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशत बढेको छ ।