काठमाडौं । नेपालमा क्यान्सर रोगको नयाँ बिरामी थपिने ग्राफ दिनप्रतिदिन उकालो लागिरहेकाले यस रोग विरुद्धको अभियान अझ शसक्त र प्रभावकारी ढंगबाट अगाडी बढाइनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) को ४४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले अबको जेनजी पुस्ता यो अभियानमा जोडिएर देशभर क्यान्सर विरुद्धको सचेतना फैलाउन लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममका प्रमुख अतिथि कर्ण शाक्यले अहिलेको यूवाहरुले अझ बढि जिम्मेवारीका साथ क्यान्सर रोगविरुद्धको जनचेतना फैलाउने काममा लाग्नुपर्ने बताउनुभयो । साथै उहाँले सकारात्मक सोच र त्यस अनुरुपका व्यवहारहरु अहिलेको समाजको अवश्यकता रहेको औल्याउनुभयो ।
निवर्तमान अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले नेपालमा क्यान्सर रोगको सचेतना र उपचारको क्षेत्रमा संस्थाको अहम भूमिका रहेको स्मरण गर्नुभयो । संस्थाको अगुवाइमा स्थापित भक्तपुर क्यान्सर अस्पतालको स्थापना, नेपालमा क्यान्सर रोगको उपचारमा कोशेढुङ्गा सावित भएको उहाँको भनाई छ ।
कार्यक्रममा महासचिव दिपेन्द्र वान्तवाले सरकारले क्यान्सर लगायतका दीर्घ रोगीहरुकालागि प्रदान गरिरहेको सहुलियत रकम बढाएर पाँच लाख पुर्याउनु पर्नेमा जोड दिनुभयो । क्यान्सर रोगको उपचार खर्चिलो हुने भएकाले हाल सरकारले उपलब्ध गराएको एक लाख बराबरको सहुलियत ज्यादै न्यून भएको उहाँको भनाइ थियो ।
नेपाल विकास अनुसन्धान परिसद्का अध्यक्ष डा. जय कुमार गुरुङले सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुले पछिल्लो समय विभिन्न क्षेत्रमा लगानी गरेर आफ्नो दायरा बढाइरहेको हुँदा यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले, एनसिआरएस ट्युमर बोर्ड बैठकका संयोजक प्राध्यापक डाक्टर प्रदिप वैध्य र क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णलाई सम्मान गरेको थियो । साथै औषधी उत्पादक तथा वितरक कम्पनी यतिकेम ग्रुपका अध्यक्ष प्रभुराज वैद्यलाई पनि सम्मान गरिएको छ । काठमाडौँ पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालय, दरबार हाईस्कूल लगायतका विद्यालयहरुलाई क्यान्सर रोगको सचेतना सम्बन्धी कार्यक्रमहरुमा सक्रिय सहभागिताकालागि संस्थाले सम्मान गरेको छ ।
काठमाडौँको ज्ञानेश्वरमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, क्यान्सर सर्भाइभर र विद्यार्थीहरु सहित करिव दुईसयजनाको सहभागिता रहेको थियो । नेपालमा हरेक वर्ष करिब २२ देखि २४ हजार क्यान्सरका नयाँ बिरामीहरु थपिने पछिल्लो अध्ययनहरुले देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थकर जीवनशैली, उपभोग्य सामानमा अखाद्य वस्तुहरुको मिसावट र रासायनिक विषादीहरुको अनियन्त्रित प्रयोगका कारण क्यान्सर रोग बढ्दै गएको विज्ञ बताउँछन् ।