कालिगण्डकी गाउँपालिका सयपत्री फूलमा आत्मनिर्भर

Yangle News
Yangle News
२०८० कार्तिक २० गते
कालिगण्डकी गाउँपालिका सयपत्री फूलमा आत्मनिर्भर

 

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले स्थानीयलाई फूलमा आत्मनिर्भर बनाउन पछिल्लो तीन वर्षयता सक्रियता बढाएको छ ।  सोहि अनुरुप पालिकासहित विद्यालय तथा सामूहिक रुपमा व्यावसायिक फूल खेती गरिएको छ । पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा १६ जना कृषकले ६० रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् ।

कृषकलाई व्यावसायिक फूल खेतीमा आकर्षित गर्न पालिकाले १५ रोपनी र ध्रुवज्योती माध्यमिक विद्यालयले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरेको हो । अहिले व्यवसायिक खेति गरिएका सबै बगैँचामा ढकमक्क सयपत्री फूल फुलेकाले यस पटकको तिहारमा बाहिरबाट फूल किन्न नपर्ने भएको छ । वडा नम्बर ७ मा रहेको लालीगुराँस होमस्टे बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले पालिकाको ५० प्रतिशत अनुदानमा लगाइएको तीन हजार पाँचसय सयपत्रीका फूल पनि फुलेका छन् ।

कृषिलाई प्राथमिकता राखेर कृषकको जीवनस्तर उकास्न पालिकाले फूल खेतीलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाले कम्तीमा दुई रोपनीमा फूल खेती गर्ने कृषकलाई प्रतिरोपनी नौ हजार रुपियाँ अनुदानका साथमा प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग गरेको छ ।

उत्पादित फूल होलसेलमा प्रतिकेजी २५० रुपैयाँ  र खुद्रा तीनसय रुपैयाँका दरले बिक्री भइरहेको छ । गत वर्ष उत्पादित फूलबाट १८ लाख रुपैयाँ आम्दानी भएकोमा यस वर्ष २५ लाखको आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । ग्राहकको मागअनुसार तयारी माला प्रतिगोटा ७० रुपैयाँदेखि १५० भन्दा बढी मूल्यमा बिक्री भइरहेको छ ।

स्थानीय ध्रुवज्योती माध्यमिक विद्यालयले गत वर्ष फूल खेतिबाट एक लाख रकम कमाएको र यस आर्थिक वर्षमा दोब्बर आम्दानी गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक हिरा गाहाले जानकारी दिए । फूलको आम्दानी विद्यालयको शैक्षिक विकासमा खर्च गर्ने गरिएको प्रधानाध्यापक गाहाले बताए ।