काठमाडौं । नेपाली हिन्दु महिलाहरुको पवित्र धार्मिक सांस्कृतिक पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिसाथ मनाइदै छ ।
हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाउने हरितालिका तीजको अवसरमा काठमाडौं उपत्यकाका पशुपतिनाथ लगायतका देशभरका विभिन्न शिव मन्दिरमा विशेष पुजा तथा दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ ।
विशेषगरी महिलाहरुले भगवान शिवको पुजा आराधना गरी परिवारमा सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गरेर यो पर्व मनाउँने गरिन्छ । तीजका अवसरमा महिलाहरु विहानै देखि स्नान गरी शुद्ध वस्त्र धारण गरेर शिवालय तथा विभिन्न धार्मिक स्थलमा शिवको पुजाअर्चना गर्ने गरिन्छ । पुजामा शिवलाई मन पर्ने बेलपत्र, धतुरो, फूल, अक्षता, फलफूल तथा विभिन्न पुजा सामग्री अर्पण गर्ने गर्दछ ।
तीजको धार्मिक सम्वन्ध विशेष गरी भगवान शिव र पार्वतीसंग जोडिएको छ । धार्मिक मान्यता अनुसार हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा प्राप्त गर्न कठोर तपस्या गरी आफ्नो मनोकांक्षा पूरा गर्न गरेको तपस्या र ब्रतलाई स्मरण गरी हरितालिका तीज मनाउने गएिको विश्वास गरिन्छ ।
तीज धार्मिक पर्व मात्र नभइ नेपाली महिलाहरुको सांस्कृतिक अभिब्यक्तिको महत्वपूर्ण अवसर पनि हो । आफूले भोगका दुःख, पीडा, पारिवारिक अवस्था र आफ्ना अनुभव तीज गीत र नृत्यमा प्रस्तुत गर्दै एकआपसमा सुखदुःख साट्दै उल्लासका साथ शुभकामना आदान प्रदान गर्ने दिनका रुपमा हेरिंदै आएको छ ।
तीजको अघिल्लो दिन दर खाने परम्परा रहेको छ । माइती तथा आफन्तले छोरी चेलीलाई बोलाएर विभिन्न परिकार खुवाउने र शुभकामना आदान प्रदान गर्ने चलन छ । यसले पारिवारिक सम्वन्ध र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ ।