अमेरिका र इरानबीच जारी शान्ति वार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा राहतजनक गिरावट आएको छ । महिनौंदेखि जारी तनावका कारण उच्च विन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ ।
आइतबारको तथ्याङ्कअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १.५ प्रतिशतले घटेर ९९ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्यमा ५ प्रतिशतको भारी गिरावट आई प्रति ब्यारेल करिब ९२ डलर कायम भएको छ ।
फेब्रुअरी २८ मा युद्ध शुरू भएयता विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक हर्मुज जलमार्ग बन्दप्राय: अवस्थामा थियो । अहिले दुवै मुलुकले उक्त जलमार्ग पुन: खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्, जसले आपूर्ति शृङ्खला सुध्रने संकेत गरेको छ ।