यो वर्षको मनसुनमा कम पानी पर्ने सम्भावना

Yangle News
Yangle News
२०८३ बैशाख २५ गते
यो वर्षको मनसुनमा कम पानी पर्ने सम्भावना

यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ । मौसम विभागका अनुसार अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । अर्थात यस वर्ष गर्मी बढी हुने सम्भावना देखिन्छ ।

जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५% देखि ६५% रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशका मध्य भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५% देखि ५५% रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा कोशी प्रदेशका उत्तरी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको विभागले जनाएको छ ।

यस मनसुन अवधिमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहको छ । सुदूरपश्चिम प्रदेशका उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर-पूर्वी तथा दक्षिणी भू-भाग, बागमती प्रदेश पश्चिमी भू-भाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भू-भाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५% देखि ६५% रहेको छ । कोशी प्रदेशका मध्य भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ ।

यसैगरी न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका उत्तरी भू-भागहरु, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५% देखि ६५% रहेको छ ।

कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका दक्षिणी भू-भागहरु, मधेश प्रदेशका मध्य भू-भाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५% देखि ५५% रहेको छ ।