पश्चिम एसिया तनाबपछि ३० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए

Yangle News
Yangle News
२०८३ बैशाख १२ गते
पश्चिम एसिया तनाबपछि ३० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए

मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली नागरिक त्यस क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढेपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा धेरै नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार ती नागरिक तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए ।

यसै गरी मन्त्रालयको कन्सुलर सेवा विभागले शुरु गरेको अनलाइन पोर्टलमा अहिलेसम्म ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा विवरण दर्ता गराएका छन् । इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको छ ।