सरकारले माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाको टावर र राइट अफ वेका लागि रसुवा र नुवाकोटमा पर्ने वनका रूखहरु हटाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने र त्यहाँ रहेका रुखहरु हटाउने निर्णय गरेको हो ।
विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था विकास समितिको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मदन भुजेललाई सोही मन्त्रालयको प्रस्तावबमोजिम जिम्मेवारी तोकेको छ ।
आजको बैठकले यही जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस् वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३ मा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ ।
बैठकले काभ्रेको पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।