फ्रान्सको कान्स सहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले स्टल राखेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखिएको बोर्डले जनाएको छ ।
बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सहनिर्माणको अवसरलाई विश्व बजारसम्म पुर्याउने ऐतिहासिक पहलका रूपमा लिएको छ । चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै कान्समा राखिएको नेपाल स्टलको स्थानीय व्यवस्थापक तथा साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सन रहेको जनाएको छ ।
बोर्डले यो उपस्थिति कुनै एक चलचित्र वा टोलीको प्रवर्द्धनमा मात्र सीमित नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार, वितरक, सहनिर्माता, दर्शक र छायांकन पर्यटनसँग जोड्ने दीर्घकालीन प्रयास भएको जनाएको छ । बोर्डले मिति २०८२ फागुन २५ गते औपचारिक सूचना प्रकाशित गरी कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूबाट पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो ।
यसै सन्दर्भमा विभिन्न विधामा छनोट भएको नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’लाई नेपाल स्टलमा विशेष प्राथमिकताका साथ समेट्ने तयारी बोर्डले सुरुदेखि नै गरेको जनाएको छ ।