एनपीएलको दोस्रो संस्करणबाट ९ करोड २१ लाख नाफा

Yangle News
Yangle News
२०८२ चैत्र २३ गते
एनपीएलको दोस्रो संस्करणबाट ९ करोड २१ लाख नाफा

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आयव्यय सार्वजनिक गरेको छ । जसअनुसार क्यानलाई ९ करोड रूपैयाँभन्दा धेरै नाफा भएको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको आय-व्यय विवरणअनुसार एनपीएलको दोस्रो सिजनमा क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रूपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ । प्रतियोगिताको कूल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रूपैयाँ रहेको थियो भने खर्च कटाई कूल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रूपैयाँ भएको थियो ।

उक्त नाफाबाट ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रूपैयाँ ८ वटा फ्रेन्चाइज टोलीलाई बाँडफाँड गरी बाँकी रकम क्यानको भागमा परेको हो । एनपीएल गभर्निङ काउन्सिलले पहिलो संस्करणमा क्यानसमक्ष २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रूपैयाँ प्रस्तुत गरेको थियो ।

पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १४६ रूपैयाँ बढी खुद मुनाफा भएको क्यानले जनाएको छ । क्यानले पहिलो सिजनबाट २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रूपैयाँ आम्दानी गरेको थियो । त्यस क्रममा प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रूपैयाँ खर्च गरेको थियो ।

Yangle News