नेपाली कांग्रेस महासमिति बैठकमा आज बन्द सत्र सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हिजो सुरु महासमिति बैठकको बन्दसत्रमा रक्षामन्त्री समेत रहेका पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो । सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो । थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो ।
महामन्त्रीको दस्ताबेजमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदै छ । महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन् ।