गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर पुगेको हो ।
टोली तत्कालीन नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयले टोलफलाई स्वागत तथा सम्मान गरेको छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै टोली पैदलै बुटवल पुग्ने योजनामा छ ।
एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्गलगायत धरोधरको संरक्षण प्रवर्द्धन गर्नका लागि पहिलो पटक पदयात्रा कार्यक्रम गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।
नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौँतर्फ पदयात्रा विगत पाँच वर्षदेखि सञ्चालन भई पुस २७ गते मनाइन्छ । यसै सन्दर्भमा अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा २०७९ चैत २९ गते गोरखाबाट सुरु भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्राका कार्यक्रमअन्तर्गत टोली पाल्पा रामपुर पुगेको हो । सहायक रथी ललिबहादुर कुँवरले गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको बताए ।
नेपालको राष्ट्रिय झन्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित पदयात्रा गरिदै छ । टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झन्डा हस्तान्तरण, तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रमअनुसार पदयात्रा अगाडि बढेको छ ।
यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् ।
पाल्पामा केलादीघाट हुँदै प्रवेश गर्ने टोलीले बाकुमगढी, माथागढी, तानसेन–तिनाउ हुँदै रुपन्देही प्रवेश गर्ने दि फेमश महिन्द्र दल गण पाल्पाले जनाएको छ । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको विशेष दिन झन्डालाई जितगढी पुर्याएपछि यात्रा सम्पन्न हुनेछ ।