साफ फुटसलमा नेपाली महिला टोलीको फराकिलो हार

Yangle News
Yangle News
२०८२ माघ ३ गते
साफ फुटसलमा नेपाली महिला टोलीको फराकिलो हार

थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसीपअन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालको महिला टोलीले फराकिलो हार व्यहोरेको छ ।

बैंककस्थित नोन्थाबुरी स्टेडियममा आज भएको खेलमा नेपाललाई भारतले भारी गोलअन्तरले पराजित गरेको हो । कमजोर प्रदर्शन गरेको नेपाल ८-१ ले नतिजा सुम्पन बाध्य भयो ।

खेलको शुरूवातदेखि नै आक्रामक देखिएको भारतीय टोलीले पहिलो हाफमै ५-१ को अग्रता बनाएको थियो । भारतका लागि दिति कमलेश कानुन्गोले चार ४ गोल गरिन् । यस्तै रितिका सिंहले दुई गोल थप्दा निष्का प्रकाश र खुश्बु काशीराम सरोजले समान एक-एक गोल गरिन् ।

नेपालको तर्फबाट एकमात्र गोल मनिषा थापा मगरले गरेकी हुन् । तर, त्यसपछि खेलमा फर्किने प्रयास सफल हुन सकेन र दोस्रो हाफमा समेत भारतले थप गोल गर्दै दबाब कायम राख्यो ।

पहिलो खेलमा नेपालले मंगलबार श्रीलंकासँग २-२ को बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सलाई ५-० ले पराजित गर्दै अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक पहिलो जित दर्ता गरेको नेपाली महिला टोली तेश्रो खेलमा भने नराम्ररी पराजित हुन पुगेको हो ।

नेपालले आगामी खेल सोमबार बंगलादेश, बुधबार पाकिस्तान र अन्तिम खेल आइतबार भुटानविरुद्ध खेल्ने तालिका छ ।