उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

Yangle News
Yangle News
२०८२ चैत्र १३ गते
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिश गरेकामध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतलाई कारबाही सिफारिश गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको उक्त प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय भएको थियो ।

बैठकले नवयुवा आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

बैठकले शासकीय सुधारका योजनाहरू समेत स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।