‘फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित’

Yangle News
Yangle News
२०८२ चैत्र ११ गते
‘फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित’

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्यांकन गरेको छ ।

आयोगले आज काठमाडौंमा आयोजना गरेको जलपान समारोहमा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल चुनावका रूपमा व्याख्या गरे ।

उनले चुनाव अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको संयमको प्रशंसा गरे । ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण रूपले चुनाव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाहरूबाट पनि यो चुनावको प्रशंसासहित मूल्यांकन गरिएका प्रतिवेदन प्राप्त भएका छन् । नवयुवा आन्दोलनको ६ महिनाभित्रै चुनाव सम्पन्न हुनुलाई विश्व समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएको छ,’ उनले भने ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यावाद ज्ञापन गरे ।