नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज-२०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सार्वजनिक गरेको खेल तालिकाअनुसार यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्को एक देशले प्रतिस्पर्धा गर्नेछन् । ओसियानाबाट सहभागी हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न महासंघका राष्ट्रिय टोलीलाई नियमित प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘फिफा सिरिज’ कार्यक्रम सुरुआत गरेको हो । फिफा सिरिज विश्वभरका राष्ट्रिय टोलीहरूलाई ठूला प्रतियोगिताबाहेक पनि अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम हो । सोहीअनुसार नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि पनि सोही दिन प्रतिस्पर्धा हुनेछ ।
फिफा सिरिज-२०२६ मा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन । पुरुष टोलीका खेलहरु विभिन्न ९ देशमा हुने तालिका छ । महिला टोलीका खेलहरु थाइल्याण्डसहित आइभरीकोष्ट र ब्राजिलमा हुनेछ ।