पोखरामा आजदेखि सुरु भएको साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले निराशाजनक सुरुवात गरेको छ । पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग १-० गोलले पराजित भयो । दोस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
त्यसअघि, आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई १२-० गोलको विशाल अन्तरले हराएको थियो । बंगलादेशले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो । बंगलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।
प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । नेपालले तेस्रो खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ७ मा खेलिने छ ।